काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो पार्टी कांग्रेसका लागि नभई राष्ट्रका लागि भएको दाबी गरेका छन्।
शनिबारदेखि सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत भद्रपुरस्थित मेची पुलमा आयोजित कार्यक्रममा उनले दाबी गरेका हुन्।
'हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था पक्षधर हौँ', उनले भने, 'यो व्यवस्थाको माध्यमबाट हामीले राष्ट्रको हित, जनताको हितमा काम गर्नुछ। हामी हाम्रा लागि छैनौँ। नेपाली कांग्रेस नेपाली कांग्रेसका लागि छैन। हामी राष्ट्रका लागि छौं। जनताका लागि छौँ।'
उनले आफूहरूको सम्पूर्ण क्षमता र समर्पण जनताका लागि रहेको बताए। उनले पार्टीले चलाएका अभियानबाट किसानका समस्या के हुन्, मजदुरका समस्या के हुन्, गाँस, बास र कपासको स्थिति, संविधानमा लेखेका जनताका मौलिक अधिकार कति कार्यान्वयन गर्न सकियो, कहाँनेर त्रुटि र कमजोरी छ भन्ने जस्ता विषय बुझ्ने बताए।
'संविधान त ल्यायौँ। तर त्यसको मूल मर्म र भावना बमोजिम कति कार्यान्वन गर्न सक्यौँ, कति सकेनौँ। समग्र विषयमा एक पटक नयाँ दृष्टिकोणसहित आगामी महासमिति बैठकबाट नेपाली कांग्रेस पार्टीलाई नयाँ गन्तव्य र कार्यदिशा तय गर्नेछ। गन्तव्य र दिशाले जनताको हितमा काम गर्न सक्नुछ, हामीले', सिटौलाले भने।
'समुदायमा कांग्रेस अभियान' शनिबारदेखि सुरु भएको छ। अभियानदेखि माघ २६ गतेसम्म चल्ने कांग्रेसले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।