काठमाडौं– सरकारले एक महिनामा मात्रै २९ अर्ब २७ करोड रुपैयाँ बराबर स्रोत सहमति गरेको छ। चालू आर्थिक वर्षको पुस महिनामामात्रै २९ अर्ब २६ करोड ९८ लाख ९३ हजार रुपैयाँ बहुवर्षीय ठेक्का र बजेटसँग सम्बन्धित स्रोत सहमति गरेको छ।
जसमध्ये सबैभन्दा बढी कृषि तथा पशुपंक्षी मन्त्रालयलाई रासायनिक मल खरिदको लागि स्रोत सहमति प्रदान गरेको छ। रासायनिक मल खरिदको लागि १५ अर्ब १८ करोड रुपैयाँ थप स्रोत सहमति प्रदान गरेको छ। मल खरिदको लागि करिब ३० अर्ब बजेट विनियोजन भएको थियो।
यस्तै दोस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत १३ अर्ब २५ करोड रुपैयाँ स्रोत सहमति भएको छ। पुष्पलाल मध्यपहाडी राजमार्गको लागि ६ अर्ब १५ करोड रुपैयाँ सहमति भएको छ। जसका लागि ३ अर्ब ८३ करोड ९२ लाख बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ।
७ अर्ब १० करोड रुपैयाँ मदनभण्डारी राजमार्गका लागि स्रोत सहमति दिइएको छ। जसका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।