काठमाडौं- राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान अन्तिमतिर पुगेको छ। बिहान ९ बजेबाट सुरु भएको मतदान १ बज्नै लाग्दा सकिन लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार प्रदेश सभाका सभामुख नन्दा गुरुङले मात्रै मतदान गर्न बाँकी रहेको निर्वाचन सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए। उनका अनुसार ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेश सभातर्फका ३९ जनाले मतदान गरिसकेका छन्।
अब १ मत मात्रै खस्न बाँकी रहेको छ। यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन्।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन्। मतभार नेकपा एमालेको भन्दा गठबन्धनको तीन गुणाले बढी छ। प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।