काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचनमा मतदान धमाधम चलिरहेको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान अन्तिमतिर पुगेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार मतदाता रहेका प्रदेश सभा सदस्य ११० जनामध्ये ९९ जनाले मतदान गरिसकेका छन्। त्यस्तै २३७ स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये २२९ जनाले पनि मतदान गरिसकेका छन्। निर्वाचन कार्यालयले बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएकाले ३ बजेसम्म नै मतदानका लागि पर्खने अनि मात्र गणना सुरु हुने जनाएको छ।
हालसम्मको अवस्था हेर्दा काठमाडौं महानगरपालिका प्रमुख र अन्य दुई गाउँपालिका प्रमुख अनुपस्थित हुने देखिएको छ। त्यस्तै हाम्रो नेपाली पार्टीका दुई सांसदहरु पनि सहभागी नहुने जानकारी निर्वाचन कार्यालयलाई गराएका छन्।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू मतदानमा सहभागी नहुने सार्वजनिक घोषणा गरेका छन् भने नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष चेक बाउन्सको मुद्दा परेकाले उनी भने निर्वाचनमा सहभागी हुने छैनन्।
त्यस्तै काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा बिरामी भएकाले मतदानमा सहभागी नहुने जानकारी निर्वाचन कार्यालयलाई गराएका छन्। हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी पनि मतदानमा सहभागी भएका छैनन्। यो सबै जोड्दा १६३ मतभार घट्ने भएको छ।
बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।