काठमाडौं– राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत बिहीबार बिहान ११ बजेसम्म ५० प्रतिशत मतदान सकिएको छ। देशका सातै प्रदेशमा बिहान ९ बजे आसपास मतदान सुरु भएको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ। बिहान ११ बजेसम्म ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको उनले जानकारी दिए।
निर्वाचन आयोगले मतदानका लागि बिहीबार दिउँसो ३ बजे सम्मको समय निर्धारण गरेको छ। ३ बजे मतदान सकिएपछि मुचुल्का उठाएर मतपेटिका संकलन गरिनेछ।
मतपेटिका संकलन सकिए लगत्तै मत गणना सुरु हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए। प्रवक्ता पौडेलका अनुसार बिहीबार बेलुका ७ बजेसम्म मत गणना सकिने अपेक्षाअनुसार तयारी गरिएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १/१ मतदान स्थल र २/२ मतदान केन्द्र कायम गरिएको छ।
२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लाग्दा अर्को ६ वर्षे पदावधिका लागि १९ जना सदस्यको निर्वाचन हुन लागेको हो। अर्का १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। सत्तारुढ गठबन्धनका दलहरुले सहमतिमा उम्मेदवारी दिएका छन्। जसअनुसार नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना उम्मेदवार छन्।
संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, जनमत पार्टीका २ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न प्रदेश सभाका सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। प्रदेश सभा सदस्यतर्फ ७ वटै प्रदेशमा ५४९ जना मतदाता छन्।
यस्तै, पालिकातर्फ १ हजार ४९८ जना मतदाता छन्। कुल २ हजार ४७ जना मतदाता छन्।
प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख तथा उपप्रमुख र उपाध्यक्ष तथा अध्यक्षको मतभार १९ कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।