काठमाडौं– प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन्।
बिहीबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर शिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागि परेको भन्दै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्त्वपूर्ण रहने बताए।
प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनुपर्ने औंल्याए। उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए।
प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।