काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने आगामी लक्ष्य लिएको बताएका छन्।
बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बैंकको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको बताएका हुन्। साथै अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने उनको भनाइ छ।
‘राष्ट्र बैंकका नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने देखिएको छ,’ उनले भने, ‘अब अर्थतन्त्र सुधारको बाटोमा छ। यसको तथ्यांक आगामी दुई/तीन महिनामा देखिन्छ।’ त्यस्तै, पर्यटन आगमन बढ्दै गएकाले यस क्षेत्रमा बैंकको लगानी बढ्दै गएको पनि उनले बताए।
यस्तै गत पुस २९ गतेको गते सम्पन्न साधारणसभाले बैंकको खुद मुनाफाबाट ५.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको बताए।
राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्ष (२०७८०/०८१)पुष मसान्तसम्मको कूल निक्षेप ३ खर्ब ३७ अर्ब रहेको छ। यस्तै कूल कर्जा २ खर्ब ५६ अर्ब रहेको छ।
चालू आर्थिक वर्षको चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कूल सम्पत्ति ४ खर्ब १५ अर्ब र नेटवर्थ ५३ अर्ब पुगेको छ। पुस मसान्तसम्म बैंकको नाफा २.०१ अर्ब रहेको छ। यस्तो नाफा आर्थिक वर्ष २०७९/०८० को असार मसान्तासम्म ३ अर्ब ५९ करोड रहेको थियो।
चालू आर्थिक वर्षको पुष मसान्तसम्म बैंकको निष्कृय कर्जा ३.९५ प्रतिशत रहेको छ। यस्तै कोषको लागत ५.६७ प्रतिशत तथा औषत आधार दर ८.२५ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।