काठमाडौं– ललिता निवासको ११२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्नता रहँदै भ्रष्टाचार गरेको मुद्दामा अन्तिम सुनुवाइ जारी रहेको छ। विशेष अदालतले मुद्दालाई निरन्तर राखेर सुनुवाइ गरिरहेको छ।
न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा माघ २ बाट खोलिएको फाइलमा सातौं दिन बहस भइरहेको छ। उक्त मुद्दामा सुरुमा सरकारी वकिलहरुले ओपनिङ बहस गरेका थिए। सरकारी पक्षले दुई दिन बहस गर्दै अभियोगमा दाबी गरिएका सबै प्रतिवादीलाई दोषी ठहर गर्नुपर्ने तर्क गरेका थिए।
सरकारी बहसपछि प्रतिवादीका कानुन व्यवसायीहरुले बहस थालेका थिए। अहिलेसम्म ८ जनाका तर्फबाट सुनुवाइ भएको र अझै सय जनाभन्दा बढी प्रतिवादीको पक्षबाट बहस बाँकी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
१७५ जना प्रतिवादी रहेको र पूर्वमन्त्री, सचिवसमेत जोडिएको ठूलो मुद्दा भएकाले समय लाग्ने देखिन्छ। उक्त मुद्दामा बहस गर्नका लागि वरिष्ठ अधिवक्ताहरुको लाइन रहेको छ। भीआईपी प्रतिवादीहरु रहेका कारण एउटै प्रतिवादीले धेरै वरिष्ठ अधिवक्तालाई बहसका लागि नियुक्त गरेकाले समय लाग्ने अदाललते जनाएको छ।
विशेष अदालतले माग गरेको फाइल प्राप्त नहुँदा लामो समयदेखि यो विवाद विशेष अदालतमा अड्केको थियो। नेपाल सरकार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिखित जवाफ पेस गरेपछि यो मुद्दामा पेसीमा चढेको थियो।
अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। अख्तियारले नेपाली कांग्रेसका उप सभापतिसमेत रहेका विजय गच्छदारसहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनी मुख्य प्रतिवादी बनाएको थियो।
ललिता निवास प्रकरणमा अख्तियारले ११० जनालाई अभियोगमा संलग्न भएको दाबी गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो। ललिता निवासको मुद्दामा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु, अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदबिक्री गर्नेहरु अभियुक्त बनाइएका थिए।
पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।