काठमाडौं– कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म आयोजना हुने भएको छ।
मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनी गर्न लागेको मिडिया स्पेस शोलुसन प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए।
उनले छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सयभन्दा बढी स्टलहरु रहने बताए। उनले विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल रहेको उल्लेख गरे।
उनले प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालले गर्ने कार्यक्रम रहेको बताए। उनले यो भन्दा अगाडिका प्रदर्शनी भरतपुर चितवनमा गरेको भए पनि यस वर्ष कृषि क्षेत्रमा काम गर्ने सरकार लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहेको बताए।
देशभरका किसानहरुलाई प्रदर्शनी भ्रमण गराउन सहज हुने भएकाले काठमाडौंमा आयोजना गरिएको उनको भनाइ छ। ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शनीको आयोजना गर्नु भनेको देशका विभिन्न क्षेत्रबाट आउने किसानहरु नविन प्रविधिको बारेमा जानकारी दिनु रहेको उनको दाबी छ।
उनले प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादीरहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए।
मेलामा देशभरबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुका बारेमा जानकारी दिने आयोजकले जनाएको छ। प्रदर्शनीमा करिब २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको र निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।