काठमाडौं– सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
अध्यक्ष नेपालले संसद् र संसदीय समितिले पटक–पटक स्थलगत अवलोकनसमेत गरेर अघि बढाउन भनिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै पनि अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले पनि आफूसँग सो विमानस्थलको शिलान्यास गर्ने भनी आफैंले गरेको प्रतिबद्धता हालसम्म पनि कार्यान्वयनमा नआएको बताए।
देउवा र दाहालले काम अघि बढाउने वचन दिए पनि लागू नगरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले त्यसलाई छिटो अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निजगढ विमानस्थललाई अघि नबढाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले काम आवश्यक नै नभएको भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम गरेको आरोपसमेत लगाए।
अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।