सुर्खेत( इत्राम खोला किनारमै उनको सानो घर थियो। सानै घरमा पनि श्रीमान् र छोराबुहारीका साथ सन्तुष्टिको जिन्दगी बाँचेकी थिइन् धनसरी कामीले।
श्रीमान् कमाउनका लागि भारत जान्थे। छोराबुहारी वीरेन्द्रनगरमै मजदुरी गर्थे। उनी आफू भने गिट्टी कुटेरै घर खर्च चलाउँथिन्। घर खर्च कटाएर बचेको पैसा जम्मा गरेर नयाँ घर बनाउने योजना बुनेकी थिइन्। नयाँ र पक्की घर बनाएर त्यहाँ सर्ने उनको रहर भने पूरा हुन पाएन। इत्राम खोलाले उनको पुरानो घर बगायो र नयाँ बनाउने रहर पनि। ‘काल बनेर आएको रहेछ बाढी, धन्न ज्यान जोगायौं,’ तीन वर्षअघिको बाढी सम्झिँदै धनसरीले भनिन्, ‘भएको सानो झुपडी बगायो, झुपडीसँगै हाम्रो खुसी पनि बग्यो।’
२०७१ साउन २९ गते राति इत्राम खोलामा आएको बाढीले धनसरी घरपरिवारलाई उठिबास बनायो। अहिले उनको परिवार अस्थायी शिविरमा छ, जहाँ उनीजस्तै बाढीले ‘खुसी खोसिएका’ अरु पनि बस्दै आएका छन्।
अस्थायी शिविरमा बस्न थालेको यो तीन वर्ष आफ्नो जीवनकै सबैभन्दा पीडादायी भएको बताउँछिन् उनी। भन्छिन्, ‘खुसी सबै बाढीले लग्यो, हाम्रो त बेहाल भयो। न बस्नलाई घर छ न आम्दानीको स्रोत। अहिलेसम्म यस्तो भोग्नुपरेको थिएन।’
बाढीले घर बगाउँदा धरधरी रोएकी धनसरीको आँसु अझै थामिएको छैन। ‘बाढीबाट पो बाँचियो, त्योभन्दा गाह्रो त अहिले साँझ र बिहानको छाक टार्न भएको छ,’ उनको आँखा रसिलो बन्छ, ‘परिवार पनि साथमा छैन, अहिले एक्लै भएकी छु। सम्झनासाथ रुन थाल्छु।’
धनसरीको परिवारकै जस्तो पीडामा छन् सुर्खेतका झन्डै एक हजार बाढीपीडित परिवार। त्रिपालले बारेर बनाइएको झुपडी उनीहरुको आश्रय बनेको छ।
सर्वराज खत्रीको पीडा पनि धनसरीको जस्तै छ। ‘तीन वर्ष पुराना त्रिपाल छियाछिया भइसके,’ उनले आफ्नो पीडा सुनाए, ‘न घाम छेक्छ न राम्रोसँग पानी नै थेग्छ, यस्तो पीडा कतिदिन सहनुपर्ने हो’ बाढीबाट ज्यान जोगाए पनि पीडाले भने अझै पछ्याइरहेको बताउँछन् उनी। भन्छन्, ‘आँखामा आँसुको बाढी आउँछ, मनभित्र गइरहन्छ पीडाको पहिरो।’
छिन्नभिन्न परिवार
बाढीले घर बगाएसँगै पीडितहरुको परिवार छिन्नभिन्न भएको छ। अस्थायी शिविरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन्। आम्दानीको कुनै स्रोत नभएपछि अधिकांश पुरुष रोजगारीको खोजीमा भारत पसेका छन्।
एक वर्ष भारत बसेर दुई महिनाअघि घर आएका धनसरीका श्रीमान् तीजलगत्तै भारत गइसके। काम खोज्न हिँडेका छोराबुहारी अहिलेसम्म फर्किएका छैनन्। कहाँ छन् भन्नेसम्म पत्तो छैन। ‘न घर रह्यो न परिवार,’ खुइलिइसकेको त्रिपालतिर हेर्दै उनी खुइ काढ्छिन्, ुसबै परिवार सँगै भइदिएको भए एक छाक भोकै बसे पनि सन्तुष्टिले बाँच्न सकिन्थ्यो।’
पीडा बल्झाउने पर्व
अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि तीज आयो, गयो। तर धनसरीको मनमा तीजले कुनै रौनक ल्याएन। न घरमा आफन्त बोलाएर दर खुवाइन् न त रातो सारी लगाएर संगिनीहरुसँग नाँच्न गइन्। ‘साँझ बिहानको छाक टार्नै मुस्किल छ कसरी मनाउनु तीजरु’ तीज मनाउन नपाउँदाको पीडा उनको अनुहारमा झल्कियो।
तीज मात्र होइन विगत तीन वर्षयता उनले कुनै चाडपर्व राम्ररी मनाएकी छैनन्। आफन्तको अभावमा कस्तो होला चाडपर्वरु खल्लो अनुभव छ उनीसँग। ‘घर छैन, हातमुख जोर्नै मुस्किल छ, न सबै परिवार एकठाउँ हुन पाइन्छ,’ उनले भनिन्, ‘हाम्रा लागि न तीज आउँछ न दसैं र तिहार।’
पुनर्स्थापनाको पर्खाइ
बिहीबार बिहान वीरेन्द्रनगरस्थित बाढीपीडितहरुको अस्थायी शिविर महिला प्रशिक्षण केन्द्रमा भेटिएकी वसन्ती नेपाली पनि धनसरीजस्तै निराश मुद्रामा थिइन्।
तीनतीन वर्ष अस्थायी शिविरमा बस्दा पनि सरकारले बाढीपीडितहरुको पुनर्स्थापनामा बेवास्ता गरेको गुनासो उनको थियो। ‘सरकारले हाम्रो कष्टकर जिन्दगी देखेन,’ उनले भनिन्, ‘बाढी आएको बेला राहत बाँडे पनि त्यसपछि पुनर्वास र पुनर्स्थापनाको काममा भने बेवास्ता गर्यो।’ जतिसक्दो छिटो प्रक्रिया पुर्याएर बाढीपीडितको पुनर्स्थापना गरिदिन उनले सरकारसँग माग गरिन्।
सरकारको ढिलासुस्ती र बेवास्ताका कारण उनीहरुले थप पीडा भोग्नुपरिरहेको छ। पीडितलाई राहतका नाममा करोडौं खर्च भइसकेको छ। तर उनीहरु पुनर्स्थापित हुन सकेका छैनन्।
एकमुष्ट रकम माग
घर बनाउनका लागि आफूहरुलाई एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ। सरकारले जग्गा खरिदका लागि दिने भनेको ५० हजार रकम अपुग भएको भन्दै उनीहरुले जग्गा खरिद गर्न पुग्ने रकम व्यवस्था गर्न समेत माग गरेका छन्। किस्ता किस्तामा दिइने रकमले समस्या समाधान हुन नसकेको उनीहरुको भनाइ छ।
सरकारी राहतको भर नपरी ऋण गरेर घर बनाइसकेकाहरुलाई तुरुन्तै पूरै रकम निकासी दिनुपर्ने, लामो समयदेखि जोतभोग गर्दै आइरहेको ऐलानी जग्गा खरीद गरी वा आफन्तबाट लिई घरनिर्माण गरिसकेका विस्थापितहरुलाई दिने भनी स्वीकृत भएको रकम दिनुपर्ने माग पीडितहरुको छ। विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा आवास निर्माण गरी बसेका विस्थापितहरुलाई पनि अन्य पीडितसरह राहतको व्यवस्था हुनुपर्ने, आंशिक क्षति भएकाहरुका परिवारका लागि निर्धारण गरिएको रकम तुरुन्तै वितरण गर्नुपर्ने, बाढीपीडित परिवारलाई रोजगारीमा आरक्षणको व्यवस्था हुनुपर्ने तथा छुटेका पीडितहरुको पुर्नमूल्यांकन गरी राहत प्रक्रियामा समावेश गरिनुपर्ने माग पनि उनीहरुले राखेका छन्।
७ करोड फ्रिज
सुर्खेतका बाढीपीडितहरूका लागि आएको १० करोड मध्येको ७ करोड रूपैयाँ फ्रिज भएको छ। नेपाल सरकारले बाढीपीडितलाई पनि भूकम्पपीडित सरह राहत दिने निर्णय गरेपछि पीडितहरूका लागि आर्थिक वर्ष २०७३र०७४ मा १० करोड २३ लाख ५० हजार पहिलो किस्तास्वरूप बजेट आएको थियो।
बाढीपीडितलाई वितरणका लागि सरकारले पठाएको १० करोड २३ लाख ५० हजारमध्ये ७ करोड २४ लाख ५० हजार रूपैयाँ फ्रिज भएको छ। सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृत परशुराम पराजुलीले बाढी प्रभावितलाई २ करोड ९९ लाख रूपैयाँ मात्रै वितरण गरिएको जानकारी दिए। २ सय ५४ परिवारलाई घर निमार्णका लागि पहिलो किस्ताबापत ५० हजारका दरले १ करोड ३ लाख र जग्गा खरिदका लागि ३ सय ९२ घरपरिवारलाई १ करोड ३ लाख गरी जम्मा २ करोड ९९ लाख रूपैयाँ मात्र वितरण गरिएको पराजुलीले बताए।
राहतका लागि सहरी विकास तथा भवन निर्माण विभागमा जिल्ला प्रशासनमार्फत सिफारिस गरी पठाइएका ९ सय ७० घरपरिवार मध्येबाट १ सय ९२ घरपरिवार सम्पर्कमा नआएको पराजुलीको भनाइ छ। कमाउनका लागि घरबाहिर गएका कारण पीडितहरू सम्पर्कमा नआएको उनले बताए। ‘हामीले विभिन्न सञ्चारमाध्यममार्फत सूचना प्रकाशित गरेका पनि हौं, गाउँ–गाउँसम्म सूचना पुग्न नसकेर पनि धेरै पीडितहरू सम्पर्कमा नआएका हुन्,’ पराजुली भन्छन्।
तीन किस्तामा राहत रकम दिइने भएकाले सरकारले पूर्णकालीन र आवास क्षति भएकाहरूका लागि फरक–फरक व्यवस्था गरेको थियो। राहत रकम लिने प्रक्रिया झन्झटिलो भएको भन्दै पीडितहरू नै राहतका लागि सम्पर्कमा नआउँदा उनीहरूको नाममा आएको बजेट फ्रिज भएको लेखा अधिकृत पराजुलीले बताए। उनले भने, ‘रातो लालपूर्जा भएको पीडितहरू कम आउनुभयो धेरै त सम्पर्कमा नै आउनुभएन, त्यसैले बजेट फ्रिज गएको हो।’ उनले सरकारको मापदण्ड अनुसार जग्गा किन्ने र घर बनाउने प्रक्रिया झन्झटिलो भएका कारण पीडितहरूले मापदण्ड पुर्याउन नसक्दा बजेट फ्रिज भएको बताए।
पीडितहरूले आफूहरूलाई तीन किस्तामा नभई एकमुष्ट रूपमा नै रकम दिए जग्गा किनेर रातो लालपूर्जा बनाउन सक्ने बताएका थिए। जग्गा भएका तर घर निर्माणका लागि निवेदन दिएका पीडितहरूसँग जग्गाको रातो लालपूर्जा नहुँदा रकम पाउनबाट वञ्चित भएका हुन्।
तीन वर्षदेखि विभिन्न स्थानमा अस्थायी शिविर बनाएर बसिरहेका पीडित परिवारको संख्या ९ सय ७० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।