काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९ मा) काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन विशेष निर्देशन दिएका छन्। शुक्रबार सम्पन्न तेस्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतको यस्तो निर्देशन दिएका हुन्।
त्यस्तै लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरे।
आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो।
बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए।
लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको लगानी बोर्डका सहसचिव प्रधुम्न पाण्डेले बताए। साथै नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव(आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको उनको भनाइ छ।
यी सबै समिति र कार्यदलहरूले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।