काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुकुरले टोकेपछि बाँचेका २२ च्याङ्ग्रा प्रतिकिलो १० प्रतिशत मूल्य घटाएर बिक्री गरेको छ।
कम्पनीले सोमबार प्रतिकिलो १ हजार १५ रुपैयाँका दरले ६ लाख रुपैयाँ बराबरमा बिक्री गरेको कम्पनीकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन्।
दशैंका लागि बिक्री गर्ने भनेर ल्याइएका सो च्याङ्ग्रा प्रतिकिलो १ हजार १२५ रुपैयाँ मूल्य तोकिएको थियो।
तर, कुकुरले आक्रमण गरेर घाइते भएका ती च्याङ्ग्रा निको भएका र धार्मिक प्रयोजनका लागि सस्तोमा बिक्री भएको उनले जानकारी दिइन्।
‘कुकुरले टोकेर केही घाइते भएका थिए तर रेबिज नभएको पुष्टि पनि भइसकेको थियो। उपचारपछि निको भइसकेका स्वस्थ च्याङ्ग्रा हुन्। तर बौद्ध धर्मका पुजारी (लामा) हरुले जङ्गलमा लगेर छोड्नका लागि किन्नु भयो,’ उनले भनिन्।
दशैंका लागि बिक्री गर्न ल्याइएका उक्त च्याङग्रा नबिकेर ४७ वटा बाँकी रहेका थिए। सो च्याङ्ग्रा कम्पनीले थापाथलीस्थित खाद्यसंस्थानको कार्यालयमा राखेको थियो। गत पुस १८ गते मध्येराति कुकुर पसेर टोक्दा २५ च्याङ्ग्रा मरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।