काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा बिक्री गर्नका लागि ५४२ वटा च्याङग्रा खरिद गरेको थियो। ती मध्ये ४९५ वटा च्याङग्रा बिक्री भए भने ४७ च्याङग्रा बिक्री नभएर बाँकी रहे।
बाँकी रहेका च्याङ्ग्रालाई कम्पनीले थापाथलीस्थित कार्यालयको खोरमा राखेको थियो। तर गत शुक्रबार बिहान २० वटा च्याङ्ग्रा बाँधेकै स्थानमा मरेको अवस्थामा फेला परे। यस्तै, केही च्याङ्ग्रा घाँटीमा टोकिएको घाउसहित घाइते फेला परे।
खाद्य व्यवस्था कम्पनीकी प्रमुख प्रमुख ज्ञानु थापाका अनुसार सोमबारसम्म यसरी मर्ने च्याङ्ग्राको संख्या २४ पुगेको छ।
खाद्य व्यवस्था कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार बिहीबार मध्यराति थापाथलीको ट्रेड टावरको छेउबाट ५ वटा कुकुर छिरेका थिए।
ति कुकुरहरुले पालैपालो च्याङग्राको घाटीमा टोकेर मारेका थिए। यस्तै कुकुरको टोकाइबाट अन्य च्याङग्रा पनि घाइते भएका छन् र केहीको अवस्था नाजुक रहेको बताइएको छ। १३ वटा च्याङग्रा भने स्वस्थ्य रुपमा रहेको कम्पनीले जनाएको छ।
‘सीसीक्यामेरा हेर्दा त्यही बेला सुरक्षाका लागि खटिएका सुरक्षा गार्डसमेत निदाएको जानकारी प्राप्त भएको छ,’ चन्दले भने, ‘यसका सुरक्षार्थमा खटिएका सुरक्षा गार्डको ठूलो कमजोरी भेटिएको छ। हामी छानबिन गर्दैछौं।’
२२ हजार रुपैयाँका दरले २४ वटा च्याङग्राको ५ लाख २८ हजार रुपैयाँको क्षति भएको छ। दशैंमा बिक्री हुन नसकेको च्याङग्रा बिक्री गर्न मूल्य घटाएर पटक पटक टेण्डर आह्वान गरिए पनि ४७ वटा बिक्री हुन सकेको थिएन।
पछिल्लो समयमा च्याङ्ग्राको कूल मूल्यलाई ४ भागमा बाँडेर किस्ताबन्दीमा पनि खरिद गर्न सकिने सुविधा कर्मचारीहरुको हकमा ल्याइए पनि ति च्याङग्राहरु खरिद गर्न कसैले चासो नदेखाएको चन्दको भनाइ छ।
सुरक्षाका लागि खटिएका कर्मचारीको लापरबाहीका कारण च्याङग्राहरु मारिएका जानकारहरु बताउँछन्। यसअघिका दशैंमा पनि बिक्री हुन नसकेको खसीबोकाहरु मारिएको घटनाहरु पटक–पटक दोहोरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।