काठमाडौं– आफू तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेको अवसरमा गत पुस १० गते पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गरे। आफ्नो कार्यशैली बदल्ने केही वाचा गरेका उनले अब बस्ने शीर्ष नेताको बैठक सत्ताको वितरण गर्न नहुने बताएका थिए।
उनको भनाइ थियो, ‘म अब दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपील गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्र को एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि राष्ट्राको छवि सुधार्न बस्नेछन्।’
दलहरू, नागरिक समाज र राष्ट्रका सबै निकायलाई क्रमभंगताको अपील गरेका उनले आफ्नो शैलीलाई भने बदलेको देखिँदैन। बरु त्यसयता उनकै नेतृत्वमा बसेको शीर्ष बैठकहरू आफ्नो शक्ति यथावत् राख्न र भागबण्डा गर्नका लागि केन्द्रित भएका छन्।
पुस १० को सम्बोधनको भोलिपल्टै प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा सम्मिलित समाजवादी केन्द्रको बैठक बसेको थियो। बैठकले समाजवादी मोर्चाको संयोजकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिएको थियो।
त्यसपछिका बैठकहरू राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरू तयार गर्न गठबन्धन आबद्ध दलहरूबीच भागबण्डा गर्नमा केन्द्रित छन्। पुस १७ पछि दैनिक जसो गठबन्धनको बैठक बसिरहेका छन्।
पुस १८ मा सत्ता गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल गरेका थिए। त्यस दिन बेलुका गठबन्धनको बैठक र पछि एमाले अध्यक्ष ओलीसँग पनि छलफल भएको थियो।
एक–दुई दिन एमालेलाई पनि भागबण्डा गर्ने विषयले चर्चा पाएको भए पनि शनिबार बिहान बसेको गठबन्धनको बैठकले एमालेलाई नसमेटी आफूहरूबीच मात्रै भागबण्डा गर्ने सहमति गरेको थियो। भागबण्डा मिलाउन शनिबार रातिसम्मै बैठक बसेको थियो।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभाका १९ स्थानका लागि हुने निर्वाचनमा आफूहरूले दिने उम्मेदवारीको संख्या निर्क्यौल गरेको छ। एकीकृत समाजवादीको असन्तुष्टि रहेको भनिएको भागबण्डा अनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ स्थानमा उम्मेदवारी दिनेछन्। त्यस्तै, राष्ट्रपतिबाट मनोनित गरिने एक पदमा राजमोकी दुर्गा पौडेलका नाममा सहमति भइसकेको बताइएको छ।
यद्यपि, एकीकृत समाजवादीको असन्तुष्टि कायमै रहेको र कुन दलले कुन प्रदेशको कुन क्लस्टरमा उम्मेदवारी दिने पूर्ण सहमति नभइसकेकाले आइतबार दिनभर यसमा गठबन्धनका शीर्ष नेताहरूको समय बित्ने आकलन गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।