काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारततर्फ निर्यात गर्नेसम्बन्धी सम्झौतान हस्ताक्षर हुनु नेपालीका लागि खुसीको खबर भएको बताएका छन्। बिहीबार रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले बिहीबार नै भएको सम्झौताको चर्चा गरेका हुन्।
'एउटा महत्त्वपूर्ण काम आज भएको छ। त्यो खुसीयाली पनि म तपाईंहरूसँग साट्न चाहन्छु। १० हजार मेगावाटको विद्युत सम्झौताको सहमति भएको थियो, आज अन्तिम हस्ताक्षर भयो। यो हामी सम्पूर्ण नेपालीका निम्ति खुसीको कुरा हो', उनले भने।
मानिसहरूमा यस विषयमा आशंका रहेको भए पनि आजबाट त्यो समाप्त भएको उनको भनाइ छ। 'दीर्घकालीन ढंगले विद्युत व्यापारको क्षेत्रमा एउटा माइलस्टोन आजबाट स्थापित भएको छ', उनले भने, 'भारत र नेपालबीचको विद्युत व्यापारको कुरा मात्रै होइन, बंगलादेशसँग पनि विद्युत व्यापारको ढोका पनि खुलेको छ।'
प्रधानमन्त्री प्रचण्डले गत जेठमा गरेको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस सम्झौताका लागि सहमति भएको चर्चा गरेका थिए।
सोही अनुसार बिहीबार भारतीय विदेश मन्त्री नेपाल भ्रमणमा आएको अवसरमा सम्झौतामा हस्ताक्षर भएको हो। बिहीबार सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।