काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगहरुले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिलको बक्यौता रकम तिर्न थालेका छन्। बक्यौता रकम तिर्ने उद्योगको विद्युत् लाइन पुन: जोडिन थालिएको छ।
बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेबापत छुट गरिएको बिल तिरेको छ। बिल तिरेपछि उक्त उद्योगको लाइन समेत जोडिएको छ।
हिमालले स्टिलले बक्यौता रकमको पहिलो किस्ताबापत सोमबार २७ लाख १० हजार रुपैयाँ बुझाएको छ। हिमाल स्टिलको ८ करोड १२ लाख रुपैयाँ बक्यौता छ।
उद्योगले पहिलो किस्ता बापतको रकम सोमबार बुझाएको हो। बक्यौता बुझाएपछि विद्युत् लाइन जोडिएको विद्युत् प्राधिकरणले जनाएको छ। हिमाल स्टिलले २६ किस्तामा रकम तिर्न सकिने जानकारी प्राधिकरणलाई दिएको छ।
शुक्रबार नै विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाउने निर्णय गरेको थियो। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरणको बोर्ड बैठकले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरेको हो।
आम सर्वसाधारण उपभोक्ताले विगतमा दैनिक रुपमा १७/१८ घण्टासम्मको लोडसेडिङ बेहोरिरहेका बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए। कूल २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रङ्क लाइन बापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन्।
डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म २२ अर्ब २४ करोड तिर्न बाँकी रहेको छ। यसमध्ये ५ करोडभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ। बक्यौता रहेका अन्य उद्योगको लाइन क्रमश: विच्छेद गर्दै जाने प्राधिकरणको रणनीति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।