काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा गत शुक्रबार दुई जना युवाको ज्यान जानेगरी भएको घटना बाहिर देखिए जस्तो नभएको बताएका छन्।
‘चिज त्यस्तो छैन, जस्तो देखिएको छ। त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु। यो कहीँ लोकतन्त्र र गणतन्त्रका विरुद्धको डिजाइन कतै त छैन भन्ने, मेरो अहिले कुनै प्रुफ होइन, त्यसैकारण मैले तुरुन्त नै त्योसँग सम्बन्धितलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्छ भनेर, सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटारमा बोलाएर गम्भीर ढंगले समीक्षा गरिएको छ’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान मात्रै क्याबिनेटबाट सरकारले गर्नुपर्ने र गर्न सक्ने जति काम तुरुन्तै गरिएको बताए। मृतका परिवारलाई रोजगारी र शहीद घोषणाका कुरा भने राजनीतिक छलफलपछि गरिने बताए।
उनले बालकुमारी घटना कसैले पूर्वानुमान गर्ने सक्ने खालको नभएको बताए। ‘म त्यो दिन पूर्व निर्धारित कार्यक्रममा दोलखामा थिएँ। आउँदाआउँदै नै मैले थाहा पाएँ। तुरुन्तै अर्को दिन बिहान घटनाक्रमको ब्रिफिङ लिइयो। म अहिले सबै भन्न चाहन्नँ। केही चिज गम्भीर लागेको छ। सामान्य छैन यो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।