काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार ललितपुरको बालकुमारी भएको युवाहरूको आन्दोलनकोबीचमा नेपालका सरकारका मन्त्री किन पुगे भनेर प्रश्न उठाएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रीको कार्यशैली प्रति प्रश्न उठाएका हुन्। आन्दोलनका बिचमा पुगेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालामाथि हातपात हुनुका साथै उनको गाडीमाथि आगजनी भएको थियो।
आन्दोलनका क्रममा दुई जना युवकको मृत्युसमेत भएको थियो। महामन्त्री शर्माले प्रश्न गरे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, विद्यार्थीहरूले प्रदर्शन गर्दै गर्दा, ईपीएस परीक्षा हामीले दिन पाउनुपर्छ भनेर प्रदर्शन गर्दै गर्दा, झण्डा हल्लाउँदै तपाईंको एकजना मन्त्री वार्ता गर्न जानु भएको थियो? के कार्यका लागि त्यो जरुरी थियो?’
उनले आफ्नो पार्टी सरकारमा सहकार्यमा रहेको बताउँदै राज्य सञ्चालनमा सरकारलाई अझ गम्भीर बनाउन जरुरी रहेको बताए। उनले राज्य सञ्चालनको लागि र जनतामा वितृष्णा नहुने साझा दृष्टिकोणका लागि सबै दलहरूबीच सहकार्य हुन जरुरी रहेको उल्लेख गरे।
देशमा निराशा छर्ने काम भएको भन्दै यसलाई चिरेर सरकार अघि बढ्न सक्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।