काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरूले लडेर लोकतन्त्र र गणतन्त्र ल्याएको भए पनि यसका लागि आफूहरूबाटै बढी खतरा रहेको बताएका छन्।
कांग्रेसद्वारा आयोजित मेलमिलाप दिवसका अवसरमा धारणा राख्दै उनले भने, ‘हामीले लोकतन्त्र र गणतन्त्र ल्यायौं, संविधान सभाको चुनाव गर्यौं, संविधान लेख्यौं ढुकुरे छाती पिट्ने। अहिले जनतामा लोकतन्त्र र गणतन्त्रप्रति आएको वितृष्णाको जिम्मा हामीले लिनुपर्छ कि पर्दैन? हाम्रै कारणले जनतामा सिस्टमप्रति वितृष्णा आएको छ। त्यसलाई भजाएर अहिले पनि लोकतन्त्र र गणतन्त्रको औचित्य छैन भन्नेहरूको मनोबल बढिरहेको छ।’
केसीले लोकतन्त्र र गणतन्त्रमाथिको खतराप्रति सतर्क र सजग हुनुपर्ने बताए। ‘अहिले पनि जनतामा अहिले पनि व्यापक असन्तुष्टि छ, लोकतन्त्र र गणतन्त्र ल्याउनेहरूप्रति। त्यो असन्तुष्टि निराधार होइन’, उनले भने।
‘लोकतन्त्र र गणतन्त्रको सीमाभित्र नेपाली जनतालाई जे जति सुशासन दिन सकिन्थ्यो। भ्रष्टाचारलाई न्युनीकरण गर्न सकिन्थ्यो। राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्न सक्थ्यौँ। नेपाली जनताका अगाडि इमानदारितापूर्वक स्वीकार गर्नुपर्छ, हामीले सकिरहेका छैन’, केसीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।