काठमाडौं- नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसका मन्त्री फेर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट नआएको बताएका छन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिको पुस १२ देखि १४ सम्म बसेको बैठकको निर्णय सुनाउन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने प्रस्ताव नै नआएपछि त्यस विषयमा छलफल गर्नु नपरेको बताए।
उनले प्रधानमन्त्रीय प्रणाली भएको हुनाले प्रधानमन्त्रीलाई सहयोग गर्नु मन्त्रीको कर्तव्य भएको बताए। ‘गठबन्धनमा सँगै बसेपछि एक पार्टीका प्रधानमन्त्री हुँदा परेको अप्ठ्यारोलाई हामीले बेवास्ता गर्यौं भने भोलि हामीले नेतृत्व गरेको बेलामा पनि त्यो हुन सक्छ। त्यसैले सबै कुरालाई ख्याल गरेर प्रधानमन्त्रीसँग संवाद, सहमति र सहकार्यमा हामी अघि बढ्छौं।’
विश्वकर्माले त्यसैले सरकार सफल हुँदा वा नहुँदा, सरकारका कामहरू जनतामा लोकप्रिय बन्दा वा नबन्दा त्यसको जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने प्रधानमन्त्री प्रणालीको विशेषता भएको स्मरण गराए।
मन्त्रालय सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको स्थितिमा कुन दलको कुन मन्त्रीबाट के अप्ठ्यारो परेको हो, सम्बन्धित दलका नेतासँग सहमति गरी मन्त्री फेरबदल गर्न सक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।