काठमाडौं– नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले अघि सार्ने उम्मेदवारहरूका लागि मापदण्ड तय गरेको छ। पार्टीको यही पुस १२ देखि १४ सम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले मापदण्ड तय गरेको हो।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको निर्णयहरूमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने मापदण्डमा स्वच्छ छविदेखि हालसम्म कुनै अवसर नपाएकासम्मका विषय समेटिएका छन्।
‘नेपाली कांग्रेसले उम्मेदवार प्रस्तुत गर्दा विधानको धारा ३२ को उपधारा ९ बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भइ आएका नामहरूमध्ये भौगोलिक तथा जातीय, क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्यागउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइने छ’, निर्णयमा भनिएको छ।
राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको बीचमा सहमतिका आधारमा साझा उम्मेदवार बनाउने निर्णय पनि कांग्रेसले गरेको छ।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।