काठमाडौं– नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ। मधेस प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिकको आधारमा नाम सिफारिस गरेको दाबी गरेको छ।
मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि ७ नेताको नाम सिफारिस गरेको छ। यसरी पठाइएको सूचीमा पहिलो नम्बरमा आनन्दप्रसाद ढुङ्गाना छन्। उनी केन्द्रीय सदस्य एवं अनुशासन समितिका संयोजक समेत हुन्। राष्ट्रिय सभामा सिफारिस गर्नका लागि उनको नाम समानुपातिकतर्फको बन्द सूचीबाट फिर्ता लिइएको थियो।
सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ। उनी पनि समानुपातिक सूचीमा थिए र निर्वाचन आयोगबाट फिर्ता लिइएको थियो। सिफारिस हुने अन्यमा नागेन्द्रकुमार सर्लाही, राधेचन्द्र यादव बारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्रबहादुर अमात्य पर्सा र हृदयनारायण यादव रौतहट लगायत छन्।
११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट नाम संकलन गरिरहेको छ। यसअघि कोशी प्रदेशवाट कृष्ण सिटौला, सुजता कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य लगायतको नाम सिफारिस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।