काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयमा हेरफेर गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार सचिवालयका महत्त्वपूर्ण पदहरुमा पुरानालाई हटाएर नयाँ ल्याउने तयारी भइरहेको छ।
सचिवालयको नेतृत्व गरिरहेकी प्रधानमन्त्री प्रचण्डकी छोरी समेत रहेकी स्वकीय सचिव गंगा दाहाललगायत बाहिरिने बताइएको छ। उनीसँगै सुरुदेखि जनसम्पर्क र प्रेस अन्तर्गत रहेका केहीलाई पनि परिवर्तन गर्न खोजिएको स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डकी छोरी नै सचिवालयको नेतृत्वमा भएका कारण प्रधानमन्त्री प्रचण्डसम्म उनका सल्लाहकार र माओवादीका नेता-कार्यकर्ताहरु पुग्न समस्या परेको चर्को गुनासो छ। राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले ‘सल्लाह सुनाउने वातावरण नभएको’ भन्दै राजीनामा दिइसकेका छन्।
उच्चस्तरीय भ्रमण गर्दा हुने प्रतिनिधिमण्डलस्तरीय बैठकहरूमा प्रधानमन्त्रीका साथै दुवै देशका उच्च सरकारी अधिकारीहरू मात्र सहभागी हुने गर्छन्। तर, त्यस्ता बैठकहरुमा समेत प्रधानमन्त्रीकी छोरी समेत रहेकी स्वकीय सचिव गंगाले सहभागीता जनाउने गरेकी थिइन्। जसको कूटनीतिज्ञहरुले विरोध जनाउने गरेका थिए।
स्वकीय सचिव दाहालको चर्को आलोचना भइरहेका कारण उनलाई बाहिर राख्न सक्ने प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष अपेक्षित उपलब्धि नभएको आफैंले बताइसकेका छन्। दोस्रो वर्ष उपलब्धिमुलक बनाउन सचिवालयदेखि मन्त्रीमण्डलसम्म हेरफेर गर्ने संकेत १ वर्ष पुगेको उपलक्ष्यमा दिएको वक्तव्यबाट गरेका छन्। उनले त्यसको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै गरिने पनि बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।