काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ। ललितपुरमा शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्य समिति बैठकले सरकारको कामकारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो।
बैठकले परिणाममुखि कार्य गर्न पनि सरकारलाई अग्रसर हुन आग्रहसमेत गरेको छ। सरकारलाई देश र जनताको पक्षमा परिणामुखि काम गर्नका लागि अग्रसर हुन आग्रह गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकले सहकारी क्षेत्रमा देखिएको गैर कानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कानुनी कारबाही गर्न पनि सरकारलाई सचेत गराएको छ। त्यसैगरी वित्तीय नीतिमा सुधार गर्दै आम उपभोक्ता र लगानीकर्ताहरुलाई उत्साहित बनाउने तथा उत्पादन वृद्धिमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
कृषि क्षेत्रको सुधार गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशातर्फ कदम चाल्न पनि सरकारलाई बैठकले सुझाव दिएको प्रवक्ता खतिवडाले बताए।
नेकपा एसले जनताले उत्पादन गरेका कृषि उपजहरुको न्यूनतम समर्थन मूल्य तोकेकोमा सो मूल्यमा खरिद गरी त्यसको बजारीकरणको आवश्यक्ता व्यवस्था मिलाउन सरकारसँग दबाब पनि दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।