काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नै नभएको बताएका छन्।
उनले आफू मन्त्रालयतिर फर्किँदै गरेका बिना कारण आफूलाई ओरालेर गाडी जलाएकोमा खेद प्रकटसमेत गरेका छन्।
केन्द्रीय समितिको बैठकपछि बोल्दै उनले भने, ‘बालकुमारी घटनामा मेरो कुनै सम्बन्ध नै छैन। मान्छेको ज्यान, जाने घाइते हुने कुरा दु:खद हो। तर यसका विषयमा हामीलाई न जानकारी न सम्बन्ध नै छ। न सरोकार छ।’
उनले बिना कारण सडकमा गुडिरहेको गाडी रोकेर आगजनी गरिएको बताएका छन्। ‘बिना कारण यसरी सरकारी सम्पत्तिको क्षति गर्ने कुरा खेदजनक छ,’ उनले भने।
साथै उनले गोली चलाइएको, प्रहरीसँग प्रदर्शनकारीको भीडन्त भएको कुरामा आफूलाई जानकारी नभएको र आफ्नो पिएसओले गोली नचलाएको बताएका छन्।
उनले भने, ‘गोली लाग्ने कुरा, प्रदर्शनकारीको प्रहरीसँग भीडन्तको कुरामा धेरै जानकारी छैन। किनकी हाम्रो सम्बन्ध नै छैन। यसमा मेरो र मन्त्रालयको कुनै सम्बन्ध छैन। पीएसओले त्यहाँ गोली चलाउने कुरा त कसैसँग कुराकानी पनि गरेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।