दोलखा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको बताएका छन्।
शुक्रबार दोलखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर नभएको भन्दै अर्थतन्त्रमा सुधार देखिएको दाबी गरे।
‘पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ’, उनले भने, ‘अर्थतन्त्रमा सुधारले मुलुकमा उत्साह देखिएको छ।’ उनले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री प्रचण्डले दोलखाको उत्पादन बढाउन र पर्यटक बढाउनका लागि महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्दै गत वर्षको तुलनामा दोलखाको आर्थिक अवस्था राम्रो भएको बताए। उनले चीनदेखि दोलखा हुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत बताए।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अहिले पर्यटकमा वृद्धि भएको, विप्रेषणमा सुधार आएको र वैदेशिक मुद्रा सञ्चिति बढेको भन्दै अर्थतन्त्र चलायमान बनाउन सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए। उनले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने बताए।
पूर्वमन्त्री पार्वत गुरुङले मुलुकको आर्थिक अवस्था सुधारका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिए। पूर्वमन्त्री जीपछिरिङ लामाले मुलुकको आर्थिक विकासका लागि दोलखामा जलविद्युत्को राम्रो सम्भावना रहेको र सरकारले लगानी गर्ने आवश्यक रहेको धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।