काठमाडौं– टेरामक्स खरिदमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्याएको छ। आयोग स्रोतका अनुसार अनुसार देउवानिकट नेता तत्कालीन सञ्चार तथा हाल स्वास्थ्यमन्त्री रहेका मोहनबहादुर बस्नेत, मुख्यसचिव बैकुण्ठ अर्याल र तत्कालीन सञ्चार सचिव महेन्द्र गुरुङ, सहसचिव उत्तरकुमार खत्रीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिएको छ।
देउवानिकट रहेका मन्त्री बस्नेतसमेत तानिने देखिएपछि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै सेटिङ मिलाएर रोक्ने कोसिस गरेको खुलेको छ।
अख्तियारको उच्चस्रोतका अनुसार यसका लागि उनले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा कनेक्सन प्रयोग गर्ने कोसिस असफल भएको हो। योसँगै आयोगले गरिरहेको छानबिन रोक्न नेपाली कांग्रेसका सभापति देउवा आफैं दबाब दिन थालेका छन्।
अख्तियार उच्चस्रोतले देउवाले दबाब दिएको पुष्टि गरेको छ। अख्तियारका प्रमुख आयुक्त प्रेम राई अमेरिका भ्रमणमा रहेको समयमा देउवाले अर्का एक आयुक्तलाई उक्त प्रकरणमा मुद्दा जान नहुने भन्दै दबाब दिएका थिए। उक्त छानबिनमा सक्रिय कार्यबाहक अख्तियार प्रमुख किशोर सिलवालसँग सेटिङ मिलाइदिने बताएकै भरका एक जनाले राजदूत नै खाएको उच्चस्रोतले दावी गरेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको ‘कोटा’मा उच्च अदालत पोखरामा कार्यरत रहेका न्यायाधीश सिलवाल अख्तियार आयुक्त बनेका थिए। महाअभियोगबाट हटाइएका राणाकहाँ देउवा र उनीनिकटस्थ सिधै पुग्न असहज भएपछि सर्वोच्च अदालतमा पर्सनल असिस्टेन्टका रुपमा काम गरिसकेकी पुष्पा तिवारीमार्फत् जाने प्रयास गरिएको स्रोतले जानकारी दियो।
अख्तियार स्रोतले दिएको जानकारी अनुसार सेटिङ गरिदिन्छु भनेको व्यक्तिसँग सम्पर्क नै नभएको थाहा पाएपछि उनीहरु अख्तियार नै भेट्न जान दबाब दिएका थिए। स्रोतले भन्यो, ‘काम थाहा भएन तर केही दिनअघि सिलवाल माननीयलाई भेट्न तिवारी म्यामलगायत आउनुभएको थियो। सिलवाल माननीयले भेट्न चाहनुभएन।’
अख्तियारले भने यो मुद्दामा छानबिनको अधिकांश काम सकेर अदालतमा मुद्दा लैजाने तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रमुख आयुक्त अमेरिका भ्रमणका कारण रोकिएको थियो। अब केही दिनमा पदाधिकारीको बैठक बसेर मुद्दा दर्ता गर्न निर्णय हुने अख्तियार उच्चस्रोतले बताएको छ। संसद्को सार्वजनिक लेखा समितिलेसमेत यसबारे चासो देखाउँदै छानबिनका लागि निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।