काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताइन्।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार मन्त्री शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरण छानविन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताएकी हुन्।
उनले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइन्। कर छलिको प्रयत्न भएको अथवा कानून विपरीत काम भएको पाइएमा कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारिन्।
‘कसैबाट कानुन विपरीत काम भएको कुरा पुष्टि हुँदा, कर छलीको प्रयत्न भएको पाइएमा, गैर कानूनी काम भएका छन् भने जुनसुकै पनि कानुनको दायरामा आउन सक्ने स्थितिको आँकलन गरेर गर्नुपर्छ भन्ने प्रतिबद्धतासहित यो सरकारले समिति गठन गरेको हो। अहिले समिति अध्ययन, छानबिनमै भइराखेको हुनाले ठ्याक्कै के भएको हो, के हुनेवाला छ भन्ने कुरा अहिले छिटो हुन्छ होला। समितिले आफ्नो समयसीमाभित्र काम सम्पन्न गर्ने नै प्रतिबद्धता व्यक्त गरेको छ। उसले काम सम्पन्न गर्न बित्तिकै हामी यसमा आवश्यक निर्णय लिनेछौँ । हाम्रो नियामक निकायमार्फत हामी यि काम गराउनेछौँ भन्ने कुरा जानकारी गराउन चाहन्छु,’ उनले भनिन्।
मन्त्री शर्माले छानबिन समितिले निर्भिकतापूर्वक र स्वतन्त्रतापूर्वक छानबिन गरिरहेको दाबी गरिन्। उनले समितिले सरोकारवाला सबै निकायहरुसँग समन्वयमा काम गरिरहेको बताइन्। दूरसञ्चार प्राधिकरणले आफ्नो तर्फबाट गर्ने काम पनि गरिरहेको उनको भनाइ छ। मन्त्रालयले पनि आवश्यक काम गरिरहेको उनले उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।