काठमाडौं– समाजवादी मोर्चाको संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई नै निरन्तरता दिने निर्णण भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले नेपाललाई संयोजकमा निरन्तरता दिने निर्णय गरेको हो।
बैठकले शहीद दिवश भब्यताका साथ देशभरी मनाउने निर्णय पनि गरेको छ।
मोर्चाले राजनीतिक दलका नेताहरुको अदालतमा भएको मुद्दाबारे सरकारलाई एकमुष्ट जानकारी दिने र आवश्यक निर्णय गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ। साथै राजनीतिक सम्झौताबारे अदालतलाई पनि जानकारी दिइने निष्कर्ष निकालिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
समाजवादी मोर्चामा संसदीय राजनीतिमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी तथा संसदीय राजनीतिभन्दा बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी सम्मेलित छन्।
४ वटा कम्युनिस्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उदेश्यसहित साझा प्रतिबद्धतामा रहेर गत असार पहिलो साता समाजवादी मोर्चा घोषणा गरेका थिए। मोर्चा घोषणा हुँदाताका नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई संयोजक तोकिएको थियो।
समाजवादी मोर्चामा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दसहित पार्टीका नेताहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले गत मंसिरमा पक्राउ पुर्जी जारी गरेपछि पहिलोपटक मोर्चाको बैठक बसेको हो।
बुधबारको बैठकमा विप्लवले आफूसहित आफ्नो पार्टीका नेताहरुविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिनुलाई ‘घेराबन्दी’ भन्दै गम्भीर ध्यानाकर्षण गराएका थिए। बुधबार बिहान बसेको बैठकमा विप्लवले सरकारले आफूहरुसँग सम्झौता गर्ने र घेराबन्दीमा पनि पार्ने भन्दै प्रश्न उठाएका थिए।
विप्लवले उठाएको सवालका सन्दर्भमा गम्भीर छलफल गर्दै मोर्चाले राजनीतिक दलका नेताहरुको मुद्दाको सन्दर्भमा सरकारलाई एकमुष्ट जानकारी गराउने र ती मुद्दाहरुको सन्दर्भमा भएका राजनीतिक सहमतिबारे अदालतलाई जानकारी गराउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।