नागपुर– नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले हिमालको संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।
भारतको नागपुरमा हालै सम्पन्न ध्यान शिविरमा सहभागी भएका उनले नेपालको सभ्यताको शीर नै हिमाल भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए। प्रवचनको क्रममा शिव कृपानन्द स्वामीले नेपालको हिमाल, प्राकृतिक क्षेत्र, पशुपतिनाथ सबैको चित्रण गर्दा आफूलाई आनन्दको अनभुति भएको बताए।
नेता पौडेलले ध्यान शिविरको समयमा नेपालको हिमालको महत्त्वलाई आध्यात्मिक पक्षसँग जोडेर पनि मान्छेको क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने ज्ञान पाएको बताए।
पौडेलले भने– ‘नेपालको सभ्यताको शीर नै हिमाल हो। हिमालले जुन उर्जा प्रदान गरेको छ, मानव बस्तीलाई सुखी बनाउने, मानव सभ्यतालाई व्यवस्थित बनाउने प्रकारको योगदान पुर्याएको छ। तर आज हिमाल पग्लिरहेको छ। हिमाल संरक्षणमा हामीले ध्यान पुर्याउन सकिरहेका छैनौँ। यसले मान्छेमा चेतना, उर्जा, क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा पनि धेरै ठूलो क्षति पुर्याएको छ। वातावरण हुने सन्दर्भमा पनि हिमाल पग्लने कारणले धेरै क्षति पुगेको छ।’
गत पुस ३ गतेबाट सुरु भएको सो शिविर १० गते समापन भएको थियो। शिविरमा ७० राष्ट्रका करिब ६ लाख ५० हजार साधकहरुको सहभागिता भएको हिमालय ध्यान समर्पण योग केन्द्रका निर्देशक अम्ब्रिस मोडकले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।