काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन्। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
गठबन्धन सरकारको १ वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी ४ वर्षमा धेरै राम्रा काम गरिने बताए।
उनले भने, ‘सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही कामहरु गरेको छ। नागरिकता समस्या, मिटरब्याजीको समस्या, सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बुढिगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरुको नेतृत्व गरिएको छ। एक वर्षमा यति काम भए भने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्।’
सरकारले राम्रा कामको सुरुवात गरेको भएको भएपनि गणतन्त्र र परिर्वतन विरोधीहरुले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले राम्रा कामको प्रचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने उल्लेख गरे।
‘हामीले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट धेरै राम्रा काम पनि भएका छन्। त्यसको पक्षमा हामीले बोल्नुपर्छ। सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।