काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवासमा समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ।
बालुवाटारमा बुधबार बिहान बसेको मोर्चाको बैठक फेरि साँझ बस्नेगरी उठेको हो। आजको बैठकमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछिको अवस्था बारेमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रश्न उठाएका छन्।
अदालतलबाट पक्राउ पुर्जी जारी भएपछि सरकारी निवास पुगेका विप्लवले आफूहरुलाई सहमति भनेर अलमल्याउँदै घेराबन्दीमा पार्ने प्रयास भएको हो कि भनी प्रश्न उठाए।
मोर्चाको बैठकबाट बाहिरिने क्रममा विप्लवले मोर्चाको बैठक साँझ ६ बजे पुनः बस्ने र त्यसमा आफूलाई पक्राउ पुर्जी जारी गरेको विषयमा ठोस छलफल हुने बताए।
बैठकमा उनले खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका थिए। सरकारमा रहेका कारण प्रधानमन्त्रीसमेत संलग्न भएर समाजवादी मोर्चा निर्माण हुने अनि आफूहरुसँग सहमती पनि गर्ने त्यस्तै अदालतबाट पक्राउ पुर्जी पनि किन जारी गरियो भनि प्रश्न उठाएका थिए।
‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन्’, उनले पत्रकारसँग भने, ‘यो विषयमा आजै साँझ ६ बजे बस्ने बैठकमा छलफल हुन्छ।’
बिहानको बैठकमा पनि अदालतबाट जारी पुर्जी र आफ्नो पार्टीसँग सरकारले गरेको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको उनले बताए।
काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको राज्यविरुद्धको कसुरमा महासचिव विप्लवसहित नेकपामा पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
बुधबार बिहान बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी भएका थिए।
समाजवादी मोर्चामा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तामै रहेको जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।