काठमाडौं– परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाऊन् भन्नका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) को प्रबन्ध गरिएको बताएका छन्।
उनले दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाइएको पनि बताए।
रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ। यसबाहेक करिब एक सय जना हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको उनले बताए।
‘हराइरहेकाहरूको परिवार र साथीभाइले खबर गरेका छन्। यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासो रुसी सरकारसम्म पुर्याउन स्पष्ट सन्देश दिएका छौं,’ परराष्ट्रमन्त्री साउदले भने।
मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानव अधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरिएको पनि उनले बताए ।
प्यालेस्टाइनी समूहको अपहरणमा परेका विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई आफैंले भेटेर पहल गरिदिन आग्रह गरिएको पनि जानकारी दिँदै उनले भने, ‘अहिलेसम्मको विवरण अनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ। आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुने छौँ भन्ने मेरो दृढ विश्वास छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।