काठमाडौं– माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकार भ्रष्टाचार विरुद्धमा निर्ममतापूर्वक अघि बढेको बताएका छन्।
मंगलबार प्रेस सेन्टर बैतडीले पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। भ्रष्टाचार र सुशासनको पक्षमा सरकारले थालेको अभियान निर्ममतापूर्वक अगाडि बढाएको उनको दाबी छ।
पार्टी प्रवक्तासमेत रहेका सापकोटाले सरकारको कामको प्रशंसा गर्दै भ्रष्टाचार र सुशासनको पक्षको जारी अभियान नरोकिएको बताए।
उनले सरकार जोगाउन भ्रष्टाचारविरुद्धको अभियान रोक्नतिर नलागेको भन्दै प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान थप शसत्त ढंगबाट अगाडि बढीरहेको बताए।
‘आज प्रचण्डको नेतृत्व र नारायणकाजीको सक्रियतामा चलेको भ्रष्टाचारविरोधी आशाबर्दक अभियानले माओवादी सरकारमा काम गर्छ भन्ने कुरा प्रमाणित भएको छ,’ पूर्वसभामुखसमेत रहेका सापकोटाले भने, ’भ्रष्टाचार र सुशासनको पक्षमा अभियान निर्ममतापूर्वक अगाडि बढेका छन्। दशैं तिहारले केही फाइल अगाडि नबढेका होलान्। अब छिट्टै नयाँ नतिजा आउँछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।