काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।
उनले आफू नेतृत्वको सरकारको पहिलो वर्ष पुगेका अवसरमा दिएको सार्वजनिक मन्तव्यमा स्वास्थ्य बीमामा व्यापक परिवर्तनको खाँचो औंल्याएका छन्।
प्रधामन्त्री प्रचण्डले २०७४ सालमा आफू प्रधानमन्त्री भएका बेला जारी गरिएको स्वास्थ्य बीमा ऐनअनुसार अहिले बीमा प्रक्रिया अघि नबढेको बताए। स्वास्थ्य मन्त्रालयले उक्त ऐन अघि बढाउँदा स्वास्थ्य मन्त्रीका रुपमा गगन थापा थिए।
प्रचण्डले भने, 'म नै प्रधानमन्त्री हुँदा २०७४ सालमा स्वास्थ्य बीमा ऐन ल्याइएको हो। त्यहो ऐनको भावनाअनुसार अघि बढेन।'
उनले नागरिकको स्वास्थ्यमा पहुँचको ग्यारेन्टी गर्न बीमामा परिवर्तन जरुरी भएको बताए। यसको नीतिगत र प्रक्रियागत सुधार गरिने प्रतिबद्धता उनले जनाए। उनले थपे, 'बलियो अनुगमन र मूल्यांकन प्रणाली, सबैको आबद्धता, जनशक्ति थप्ने र रकमको दायरा बढाइने छ।’
हाल एक लाख रुपैयाँ दिइँदै आएकोमा त्यसको दायरा बढाउने उनले बताए। आधारभूत बाहेक नि:शुल्क कार्यक्रम एकीकृत रुपमा स्वास्थ्यमा बीमामा आवद्ध गराउने पनि दाबी गरे।
एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्ड अनुसार काम अघि बढ्ने पनि उनले बताए। यसैगरी स्वास्थ्य बीमा बोर्डको क्षमता अभिवृद्धि गर्ने र उपचारका लागि अस्पतला सेवा र संरचनामा सुधार गर्ने पनि प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।