काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयबाटै संरचनात्मक परिवर्तन गर्ने बताएका छन्। उनले परिवर्तनको संकेत दिनुपर्ने बताउँदै त्यसको सुरुवात प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताए।
उनले भने, ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु। यही कार्य नै सिंगो राज्यका लागि सन्देश र संकेत हुनेछ।'
उनले अब समस्याको हाँगा छिमोल्ने गल्ती नगर्ने प्रतिबद्धता जनाउँदै गएको एक वर्षमा आफूले गरेको कामबाट आफू नै सन्तुष्ट नरहेको बताए। उनले भने, ‘कति बन्यो भन्ने होइन। कति बन्न सक्थ्यो भन्ने सोचिरहेको छु।'
प्रधानमन्त्री दाहालले सल्लाहकारको कुरा नसुनेको भन्दै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका थिए। प्रचण्ड अब मन्त्रीमण्डलमा समेत हेरफेर गर्ने तयारीमा छन्। तर, सत्तारुढ दलहरुको कुरा नमिल्दा रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।