काठमाडौं– नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका आकांक्षीको नाम सिफारिस गरेको छ।
कोशी प्रदेश कार्यालय विराटनगरमा बसेको कांग्रेसको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट ३८ जना आकांक्षीहरुको नाम सिफारिस गरेको महामन्त्री भूपेन्द्र राईले बताए।
कांग्रेस केन्द्रीय समितिले पुस १० गतेभित्र आकांक्षीको नाम पठाउन निर्देशन दिएकाले आफूहरुले आकांक्षीहरु राखेर पठाएको उनले बताए। प्रदेश कार्यसमितिले नेताहरूको मर्यादाक्रम र वरीयता ख्याल गरेर नाम पठाएको र बाँकी निर्णय केन्द्रले नै गर्ने उनले बताए।
राईका अनुसार केन्द्रीय कार्य समितिले तीनजनाको नाम मागेकोमा उनीहरुको नाम सिफारिस गरेको हो। जिल्लाबाट आएकामा प्रदेश कार्यसमितिले झापाका कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर पठाएको छ।
यी दुवै नेता २०७९ मंसिरको निर्वाचनमा पराजित भएका हुन्। सिटौला झापा ३ मा राजेन्द्र लिङ्देन र सुजाता मोरङ ३ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन्।
कांग्रेस प्रदेशले महेश आचार्य, डा मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डा डिला संग्रौला र रुक्मिणी कोइराला, आङगेलु शेर्पा सहितको नाम केन्द्रमा पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।