काठमाडौं– जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक केही बेरमा बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२:३० बजेतिर सुरु हुने कार्यकारिणीको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्ने बताइएको छ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि जसपा नेपालको तर्फबाट उम्मेदबार चयन गर्नुका साथै कार्यकारिणी बैठकले यही पुस मसान्तमा आह्वान गरिएको केन्द्रीय समिति र राजनीतिक समिति बैठकको अजेन्डा तय गर्नेछ।
यही पुस २५ गतेदेखि काठमाडौंमा जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरिएको छ। सोही बैठकलाई निरन्तरता दिँदै पुस २६ र २७ गतेलाई केन्द्रीय समिति सदस्यहरुको बैठक बस्नेछ।
पार्टीले सञ्चालन गरेको संगठन बिस्तार एवं सुद्दढीकरण अभियानको प्रभावकारिता बारे बैठकमा छलफल हुनेछ। यसअघिको कार्यकारिणी बैठकले संगठन बिस्तार एवं सुद्दढीकरण अभियानको अवधि बढाएर पुस मसान्तसम्मलाई तोकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।