नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध खोया प्रहारको प्रपञ्च रचिएको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन्। रवि लामिछाने गृहमन्त्री हुन लाग्यो कि! भन्ने ठानेर आफूलाई ठेल्न खोजिएको उनको भनाइ छ।
सोमबार बिहान चितवनको नारायणगढमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले गृहमन्त्री श्रेष्ठलाई आफू वरपरका मान्छेलाई सम्हाल्न सुझाव दिए।
‘सबै प्रपञ्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीले? गृहमन्त्री ज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले,’ लामिछानेले भने।
लामिछानेले आफू सरकार वा वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रेसमा नरहेको बताए। आफू गृहमन्त्री बन्न खोजेको भनेर हल्ला चलाइएको लामिछानेको भनाइ छ।
‘यो सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्याहो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला,’ लामिछानेले भने, ‘तपाईंको सरकार तपाईंलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन। मलाई त्यसमा कुनै चासो छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।