काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमार्फत् अपनाइएको संघीयतालाई व्यावहारिक रुपमै सफल बनाउन लाग्नुपर्ने बताएका छन्।
पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ यात्राका सन्दर्भमा आइतबार सञ्चारकर्मीसँग संवाद गर्दै उनले संघीयताको कार्यान्वयन हुन थालेको ५/६ वर्षमै यसको पक्ष विपक्षमा तर्क गर्न आवश्यक नरहेको बताए।
‘कुनै सेन्टिमेन्टल हिसाबले, कुनै पक्षधरताका साथ, यो वा त्यो पक्षमा उभिएर, यसो गर्ने भन्ने पहिल्यै निष्कर्ष निकालेर होइन, बिना निष्कर्ष हामी यसलाई (संघीयतालाई), यो नभई हुँदैन र हुनै हुँदैन भन्ने खालका कुराभन्दा, यसलाई सफल पार्नेतिर जाऔं’, उनले भने, ‘सफल हुनै सकेन भने त के गर्ने? लोकतन्त्र नै त्यसैले मर्ने त होइन। त्यसैले सफल हुनै सकेन भने त्यसको कुरा हो।’
उनले संघीयतालाई सफल बनाउने कोसिस नगर्नुचाहिँ ठीक नहुने बताए। अहिले आफूहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउने कुरा गरिरहँदा संघीयतासमेतलाई सफल बनाउने कुरा गरिरहेको बताए।
उनले आठ वर्षअघि संविधान बनाउँदा संघीयताको प्रवर्द्धन गरेको भए पनि त्यसको कार्यान्वनयमा केही समय लागेको बताए। २०७४ को चुनावपछि कानुन निर्माण र संरचना निर्माण गर्न समय लागेको बताए। २०७४ को चुनावपछिको कार्यकालको आधा समय संरचना बनाउँदा र यताउता गर्दा बितेको उनको भनाइ थियो। पछिल्लो निर्वाचनपछिको कार्यकालको आधा समय पनि नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।