काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय अनुभवको सहारा लिँदै मध्यपहाडको स्थिति अहिलेकै जस्तो रहने हो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने चेतावनी दिएका छन्।
पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ का सन्दर्भमा आइतबार सञ्चारकर्मीसँग संवाद गर्दै उनले त्यहाँका समस्याको चर्चा गरेका हुन्।
‘देशको अर्थतन्त्रको एउटा मेरुदण्डको रहेको, एउटा आर्थिक केन्द्रको रुपमा रहेको मध्यपहाडी भेग, ठूलो जनसंख्या रहेको मध्यपहाडी भेग, यदि त्यहाँ निराशा छायो, त्यहाँको बसाइसराई यस्तै रह्यो, त्यहाँका जमिन बञ्जर हुँदै जाने, त्यहाँका कारोबार बन्द हुँदै जाने स्थिति कायम रहने हो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने देखिन्छ’, ओलीले भने।
ओलीले यात्राका क्रममा एमालेले ३० वटा जिल्लामा ठूला र साना सभा, भेटघाट, छलफल र अन्तर्क्रिया कार्यक्रम गरिएको भन्दै त्यहाँका जनताका धेरै सरोकारलाई लिखित रुपमा ल्याएको बताए। त्यसमा त्यहाँको समस्याहरू प्रतिबिम्बित भएका उनको भनाइ छ।
अब काठमाडौंमा विज्ञहरूसँग समेत ती समस्याहरूका बारेमा छलफल गर्ने बताए। त्यसलाई आगामी दिनमा नीति निर्माण गर्न सघाउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।