काठमाडौं– लुम्बनी प्रदेशमा आज (आइतबार) मन्त्रिपरिषद् विस्तार हुँदैछ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
मुख्यमन्त्री नियुक्त भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले २ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मुख्यमन्त्री चौधरीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र नेपाली कांग्रेसबाट प्यूठानका सरोज थापालाई मन्त्री नियुक्त गर्न सिफारिस गरेका छन्।
मुख्यमन्त्री चौधरीको सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले आइतबार मन्त्रीहरु नियुक्त गर्दैछन्। नवनियुक्त मन्त्रीहरुले आइतबार नै शपथ लिनेछन्।
माओवादी केन्द्रकी केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय दिने बताइएको छ। यस्तै, कांग्रेसका थापालाई वन तथा वातावरण मन्त्रालय वा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयमध्ये एउटा दिने तयारी रहेको बताइएको छ।
बाँकेकी केसीलाई माओवादी केन्द्रले ८ महिना अगाडि नै मन्त्री नियुक्त गर्न सिफारिस गरेको थियो। कांग्रेसका थापा भने चलचित्र क्षेत्रमा ‘रोज राणा’को नामले परिचित व्यक्ति हुन्।
गत वर्षको निर्वाचनमा प्यूठानबाट निर्वाचित भएका थिए। थापालाई मन्त्री बनाउने विषयमा कांग्रेसभित्रै विरोध हुँदै आएको थियो। संस्थापन (सभापति शेरबहादुर देउवा) पक्ष भने उनलाई जसरी पनि मन्त्री बनाउने अडानमा थियो।
थापालाई मन्त्री बनाउने विषयमा जारी विवादका कारण लुम्बनीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।