काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी भित्र एकता र सद्भावको आवश्यकता रहेको औंल्याएका छन्।
शनिबार बागमति प्रदेश कांग्रेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महतले भने, ‘पार्टी भित्र वडादेखि केन्द्रसम्म छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ। निस्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ।’
बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उनले बताए। आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्यो भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनको भनाइ थियो।
‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ। यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ,’ मन्त्री डा महतले भने, ‘हामी भित्र एउटा निष्कर्ष निकालेपछि अलगअलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ।’
उहाँले भने, ‘संसदमा हाम्रो तीन गुणा बढी संख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो। हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो। यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी कहीँ पुग्दैनौं। संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ। यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।