काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानुन नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।
शनिबार नेपाली कांग्रेस वागमती प्रदेशको सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेकोले भन्दै प्रदेश सरकारले राखेका मागहरु पूरा गर्न आग्रह गरे।
कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेसले सिंहदरबार घेर्ने उनले चेतावनी दिए। शर्माले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याईं नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे।
कांग्रेस महामन्त्री शर्माले भने, ‘सबै प्रदेश सम्मेलनमा जाँदा एउटै गुनासो के छ भने, प्रदेश बन्यो तर अधिकार दिइएन। प्रधानमन्त्रीज्यू, मागेको के हो? युरिनियम निकालेर हामीलाई देउ भनेर मागेको हो? हिरा मोतीको खानी मागेको हो? होइन, अन्तरिक्ष यान बनाएर हाम्रो हातमा देउ भनेको हो? होइन। अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो। कानुन मागेको हो। अधिकार मागेको हो।’
जनताले मागेको प्रदेशलाई अधिकारको कुरा दिन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न गर्दै उनले चेतावनी दिए, ‘त्यो दिन सकिन्छ की सकिँदैन? यदि सकिँदैन भने आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसहित उपस्थित हुनेछौँ।’
महामन्त्री शर्माले रुस-युक्रेनको सेनामा अवैधानिक रुपले नेपालीहरुलाई पुर्याउनेहरुलाई कारबाही गर्नुपर्ने माग समेत गरे। उनले युद्धमा मृत्यु भएका नेपालीको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरुसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे।
कांग्रेस महामन्त्री शर्माले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबण्डा नभई योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।