काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले २०४६ सालअघि सुनौलो युग थियो भनेर प्रचार गरिएको भन्दै कटाक्ष गरेका छन्।
नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलनमा सम्बोधन गर्दै उनले त्यतिबेला आधा जनसंख्या खालीखुट्टा हिँड्थ्यो भन्ने दाबी गरे।
‘नेपालमा अब भविष्य छैन, यहाँ बस्नुको काम छैन भन्ने माहोल जबर्जस्ती सिर्जना गर्न खोजिएको छ। र २०४६ सालअगाडि यहाँ सुनौला युग थिए भन्ने जस्तो प्रचार गरिएको छ। हामीलाई थाहा छैन? यहाँ उमेर ५० नाघेका सबैलाई थाहा छ। आधा जनसंख्या खालीखुट्टा हिँड्थ्यो’, उनले भने।
उनले विपरीत परिस्थितिका बाबजुद, द्वन्द्व, अस्थिरता, उथलपुथलका बाबजुद नेपाल यहाँ आइपुगेको र त्यसको जग कांग्रेसले राखेको बताए। ‘नत्र कुन हालतमा हामी हुन्थ्यौं। त्यसकारण अहिले सकारात्मक संवादको आवश्यकता छ’, उनले भने।
मन्त्री महतले अहिले अर्थतन्त्रले विस्तारै रफ्तार पक्डिँदै गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।