काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्राले ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरूले सिर्जना गर्न खोजेको अवाञ्छित माहोललाई ‘ब्रेक’ लगाएको दाबी गरेका छन्।
शनिबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटी अधिवेशनमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो समाजमा परिवर्तनप्रति अनास्था र अविश्वास सिर्जना गर्ने र मुलुकलाई प्रतिगमनको दिशातिर डोहोर्याउने, राजा आऊ देश बचाऊ भनेर अवाञ्छित प्रकारका गतिविधिहरू गर्ने, अराजकता सिर्जना गर्ने जुन प्रकारको माहोल समाजमा सिर्जना गर्न खोजिएको थियो। २१ दिनको हाम्रो यात्राले त्यो माहोललाई ब्रेक लगाइदियो।’
उनले यात्राबाट एउटा नयाँ डिस्कोर्स निर्माण गर्ने कुरामा आफूहरूले सफलता प्राप्त गरेको पनि बताए।
पोखरेलले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माण गर्दाका आफूहरूका सोच र सपनाहरू कुन अवस्थामा रहेछन् भनेर यात्राका क्रममा अध्ययन गर्ने मौका पाएको बताए।
‘वास्तवमा हामीले सरकार छोडिसकेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको अवस्था अत्यन्त दयनीय बन्न पुगेको रहेछ। कुनै प्रगति छैन। यतिसम्म कि हामीले मध्यपहाडी पुष्पलाल लोकमार्गमा दश वटा नयाँ सहर बनाउने भनेर घोषणा गरेका थियौं। त्यो निर्माण प्रक्रिया पनि रोकिएको रहेछ’, उनले भने।
उनले पहाडलाई समृद्धिको आधार बनाउने हो भने स्वाभाविक रुपमा पहाडमै सबै प्रकारका सुविधाहरू जोड्नुपर्दछ भन्ने धारणा राखे। थपे, ‘हामी यस्तो पहाडको निर्माण गर्न चाहन्छौं। आज बसाई सरेका मान्छेहरू आफ्नै थातथलोमा फर्किएर समृद्धिको यात्रामा फेरि जोडिउन्। यो आधार र मनोविज्ञान हामीले यात्राका माध्यमबाट तय गर्न सफल भएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।