विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको दाबी गरेका छन्। मोरङ व्यापार संघले आयोजना गरेको उद्योग व्यापार मेला (एक्स्पो २०२३)मा शुक्रबार बोल्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता सहित सरकार अगाडि बढिरहेको बताए।
अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई ग ति दिन सरकार निरन्तर क्रियाशील रहेको प्रधानमन्त्रीको दाबी थियो। उनले भने, ‘जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको थियो। एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र महँगी नियन्त्रणका दृष्टिले यतिबेला देश दुई वर्षयताकै प्रगतिमा रहेको छ।’
वार्षिक औसत महँगीदर सात दशमलव ११ प्रतिशत रहेकामा अघिल्लो महिना त्यसमा कमी आई पाँच दशमलव ३८ प्रतिशतमा झरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए।
उनले भने, ‘निर्माण व्यवसायीहरूले भुक्तानी पाएसँगै अर्थतन्त्र चलायमान हुनेछ भने अर्कातर्फ नयाँ आयोजनाको निर्माण प्रक्रियाले गति लिनेछ। अर्थतन्त्र सुधारका दृष्टिले यो आफैँमा महत्त्वपूर्ण पहल हो।’
चालु आर्थिक वर्षमा प्रतिमहिना औसत रु एक खर्ब २० अर्बभन्दा बढी रेमिटेन्स भित्रिएको र पछिल्लो चार महिनामा रु चार खर्ब ७७ अर्ब रेमिटेन्स भित्रिएको भन्दै उनले रेमिटेन्समा निर्भर हुनु अर्थतन्त्रको दीर्घकालीन समाधान त होइन, तर यसले तत्कालको सङ्कट निवारणका दृष्टिले महत्त्वपूर्ण योगदान दिने उल्लेख गरे।
चालु आव २०८०/८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति रु १६ खर्ब ९६ अर्ब पुग्नुले पनि अर्थतन्त्र सुधारउन्मुख रहेको सूचित गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले पछिल्लो समय बैंकको ब्याजदर घटाइएको र बैंकको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।