काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने बेला भएको बताएका छन्। नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई शुक्रबार कटारीमा सम्बोधन गर्दै उनले एक वर्ष भित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताए।
पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आगामी माघ १० गतेसम्म एक पटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे। ‘माघ १० गतेसम्म केही उद्घाटन गर्दिनँ, शिलान्यास गर्दिनँ, केही बोल्दिनँ, बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ,’ महामन्त्री थापाले भने, ‘हामीलाई बोल्ने मात्रै मान्छे होइन, काम गर्ने मान्छे चाहिएको छ।’
विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका जनता अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो। ‘त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ,’ थापाले भने, ‘२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न, तर जनतालाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ।’ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उनले बताए।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।