काठमाडौं- सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गत कात्तिकमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो। मन्त्रालयले तीन दिन भित्र स्पष्टीकरण पेस गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको थियो।
त्यसपछि मन्त्री बस्नेतले उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए। असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो। सो विरुद्ध डा बसौला १७ कात्तिकमा सर्वोच्च गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।